June 9, 2009

दलित बस्तीमा खानेपानी आपुर्तीमा अवरोध

स्याम्घा २६ जेठ । तनहँुको स्याम्घा गाविस-३ ढाँडमा रहेको दलित बस्तीमा पन्ध्र दिन अघि देखि स्थानिय बासिन्दाले खानेपानी आपुर्तीमा अवरोध गराएका छन् । जसको कारण गाउँलेहरु एक घण्टा टाढा गई मादि नदिको पानी ल्याएर पिउन बाध्य भएका छन् ।
२०५८ सालमा निर्माण गरिएको ज्यामिरे खानेपानी आयोजना मार्फत पानी ल्याई सो गाँउका ३५ घरमा सात वटा धारा निर्माण गरी समानरुपमा पानी वितरण गरिदै आएकोमा केहि समय अघि पाँच घरले सो आयोजनाको पानीको पाईप काटेर अन्यत्रै लगेपछि गाउँलेहरु खानेपानीबाट बिाचत भएको पिडित धुज बहादुर सुनारले बताए । उनले पानी खान नपाउँदा एक घण्टा हिडेर् नदिको पानी ल्याएर खानुपरेको दुखेसो गरे । सो गाँउका ३५ घर धुरी मध्ये ३० भन्दा बढि दलितहरु रहेका छन् भने पाईप काट्ने ५ घर धुरी पनि दलित नै रहेका छन् ।
स्थानिय उर्मीला सुनारका अनुसार अमर विक जमुना विक लक्ष्मण विक सिता विक र बुद्धिबहादुर विकले खानेपानीमा अवरोध गरेका हुन् । पानी खान नपाएपछि ३० घर धुरीका गाउँलेहरु आईतबार जिल्ला सदरमुकाम दमौली आए । उनीहरुले खानेपानीको आपुर्ती र पिडकलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय र एकिकृत नेकपा माओवादी नेपाली काँग्रेस र नेकपा एमालेको जिल्ला कार्यलयमा निबेदन समेत दिएका छन् । माओवादीले सो समस्या समाधान गर्न जिल्ला सचिवालय सदस्य आशा खनालको संयोजकत्वमा समिति समेत बनाएको माओवादीका जिल्ला ईन्चार्ज हरिबहादुर चुमानले बताए ।
अन्य दलले पनि सो घटनाको बारेमा जानकारी लिएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी एक नारयण अर्यालले तिन दिन भित्रमा गाँउलेहरुलाई पानि खान पाउने बातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए ।

No comments: