June 2, 2009

दरबार हत्याकाण्डको आज आठ वर्ष पूरा

काठमाडौं, १९ जेठ । तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुनेगरि
नारायणहिटी दरबारमा भएको हत्याकाण्डको आज आठ बर्ष पूरा भएको छ ।२०५८ साल
जेष्ठ १९ गते आजकै दिन राती ९:१९ बजे तत्कालिन राजा वीरेन्द्र, रानी
ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, युवराज्ञी श्रुतिलगायत
राजपरिवारका दश जना को हत्या भएको थियो ।

आफ्नो बिहेको बिषयमा कुरा नमिल्दा तत्कालिन युवराज दीपेन्द्रले नै सबैको
हत्या गरेको प्रचार गरिएपनि आम नेपाली जनता त्यसमा बिश्वस्त हुन सकेका
छैनन् ।

वीरेन्द्रको वंश विनाश पछि उनका भाइ ज्ञानेन्द्र शाह नेपालको राजा भएको र
उनकै पालामा हत्याकाण्ड भएको स्थल त्रिभुबन सदन भत्काइएपछि घटना थप
रहस्यमय बनेको हो ।

हत्याकाण्डको छानबिन गर्न गठित तात्कालीन प्रधानन्यायाधिश केशबप्रसाद
उपाध्यायको संयोजकत्वमा गठित छानबिन समितिले बडामहारानीको दर्जामा रहेकी
कोमल शाहको समेत बयान लिएपनि प्रत्यक्षदर्शी मुमा बडामहारानी रत्नको भने
बयान लिएको छैन ।

दोस्रो जनआन्दोलन २०६२/६३ ले आफैले सरकार चलाउने महत्वाकांक्षी राजा
ज्ञानेन्द्र शाहको कदमलाई घुँडा टेकाएको र संबिधानसभा चुनावपछिको
संबिधानसभाको पहिलो बैठकले जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक
गणतन्त्र घोषणा गरेपछि नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह नारायणहिटी
छाडेर नागार्जुन बसाइँ सरेका थिए । त्यसपछि माओवादी नेतृत्वको सरकारले
नारायणहिटी दरवारलाई फागुन १५ गते नारायणहिटी सङ्ग्रहालय घोषणा गर्दै
सर्बसाधारणका लागि खुल्ला गरेको थियो ।

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डले
हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएपछि सिंगापुरमा बस्दै आएका
ज्ञानेन्द्र पुत्र पारसले सिंगापुरबाट प्रकाशित एक पत्रिकालाई
अन्तर्वार्ता दिँदै तात्कालिन युवराज दिपेन्द्रले नै वीरेन्द्रको वंश नाश
गरेको दावी गरेका थिए ।

No comments: