June 22, 2009

नौं लाख सापट लिएर प्रधानमन्त्री पत्नी विदा

८ असार, काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालकोसमेत इच्छा
हुँदाहुँदै श्रीमती गायत्री नेपालले राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारको
जागिरबाट विदा लिनुभएको छ । प्रधानमन्त्रीपत्नीले आफू जागिरमा यथावत्
रहने इच्छा व्यक्त गरे पनि जनतामा राम्रो सन्देश जाँदैन भन्दै आफन्तहरुले
राजीनामा गर्न दिएको सल्लाहअनुसार गायत्रीले राजीनामा दिनुभएको हो ।
प्रधानमन्त्री नेपाल स्वयम्ले पनि 'जागिर खाए हुन्छ' भन्ने सल्लाह
दिनुभएको थियो ।

विगतमा माधव नेपाल रक्षा एवं परराष्ट्र मन्त्री भएका बेलामा पनि श्रीमती
नेपाल जागिरमा यथावत् हुनुहुन्थ्यो । यतिवेला जागिर छाड्ने निष्कर्षमा
पुगे पनि गायत्रीले बैंकलाई भने ९ लाख रुपैयाँ भन्दा बढी तिर्न बाँकी
रहेको छ । नेपाल प्रधानमन्त्री बनेपछि बालुवाटार प्रवेश गरेकी गायत्री
जागिर छाडेर श्रीमानसँगै कार्यक्रमहरुमा देखिनुहुन्छ ।

प्रधानमन्त्री बन्नुअघि एउटा भारतीय पत्रिकाले माधवकुमार नेपाललाई
'भारतीय मूलको नेता' भनेर लेखेको चर्चा नेपालमा निकै चल्यो । स्रोतका
अनुसार माधव नेपालका ठूलोबुबा अश्विनीकुमार विहारमा निकै चर्चित
मानिनुहन्थ्यो । प्राध्यापकका रुपमा विहारमा चर्चा कमाएका अश्विनीकुमारका
छोरा अनिल नेपालको रौतहटमा घर छ । उहाँ गौरस्थित 'शान्ता चलचित्र हल'का
मालिकसमेत हुन् ।

प्रधानमन्त्री नेपालका एकजना भाइ सरोज नेपाल इञ्जिनियर हुनुहुन्छ । उहाँ
हाल 'सिमेका कन्सल्टेन्सी' मा कार्यरत हुनुहुन्छ । अर्का माइला भाइ विनोद
नेपाल घरेलु कार्यालयका हाकिम हुनुहुन्छ । काठमाण्डौको मानविकी
(रत्नराज्य) क्याम्पसमा कर्मचारी रहेकी बसुन्धरा नेपाल प्रधानमन्त्री
नेपालकी बहिनी हुनुहुन्छ । प्रधानमन्त्री नेपालका कालिका र इन्दिरा नामका
अन्य दुई बहिनीहरु पनि छन् ।

माधव नेपालको परिवारै जागिरे हो । उहाँका बुबा मङ्गलप्रसाद विसं १९९२ मै
जुद्धोदय माविका जागिरे हुनुहुन्थ्यो । शिक्षण पेशामा हेडमास्टरसम्म भएर
उहाँ २०४४ सालबाट रिटायर्ड हुनुभएको थियो । आफू राजनीतिमा लागे पनि माधव
नेपालका अन्य दाजुभाइ र श्रीमतीले समेत निजामति सेवाका लागि योग्य बनाए ।
त्यसो त माधव नेपाल आफैं पनि बैंकको जागिर छाडेर राजनीतिमा आउनुभएको हो ।

आफ्नो पुस्ताजस्तै प्रधानमन्त्री नेपालले आफ्ना छोराछोरीलाई पनि
राजनीतिमा लगाउनुभएको छैन, बरु छोरालाई इन्जिनियर र छोरीलाई डाक्टर बनाउन
सफल हुनुभएको छ । नेपालका छोरा काठमाण्डौंस्थित भारतीय दूतावासले खोलेको
शिक्षालयमा र छोरीले छात्रवृत्ति पाएर भारतमा पढेका हुन् ।

No comments: