आर्यघाटमा दाहसंस्कार गरियो। नेतृ आचार्यको दाहसंस्कार भइरहेका बेला
नेपाली सेनाले ९ तोपको सलामी दिएको थियो। सेनाले २०३८ सालको राजपत्रमा
बहाल र पूर्व मन्त्रीस्तरका व्यक्तिको निधन हुँदा सलामी दिने भन्ने
उल्लेख भएअनुसार सलामी दिइएको बताएको छ। "गृह मन्त्रालयबाट आएको अनुरोधमा
सलामी दिइएको हो" सेनाका प्रवक्ता सहायक रथी रमिन्द्र क्षेत्रीले भने।
विगतमा कतिपय मन्त्री मृत्यु हुँदा भने यस्तो सलामी दिने गरिएको थिएन।
"कतैबाट पनि जानकारी नभएको अवस्थामा सेनाले कसरी सलामी अर्पण गर्छ र ?"
क्षेत्रीले बताए।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका पार्टी अध्यक्ष
झलनाथ खनालसहित सबैजसो पार्टी शीर्ष नेताहरु उनलाई श्रद्धान्जली दिन
पार्टी कार्यालय सानेपा पुगेका थिए।
माओवादीका नेताहरु कृष्णबहादुर महरा र देव गुरुङ पनि श्रद्धान्जली
अर्पणका लागि पुगेका थिए।
घरमै बसेर स्वास्थ्यलाभ गरिरहेकी आचार्यले असजिलो महसुस गरेपछि बुधबार
अस्पताल पुर्याइएको थियो। नेतृ आचार्यको शव अन्तिम श्रद्धान्जलिका लागि
विहान ९ बजेदेखि १२ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको
थियो । त्यसपछि साँढे १२ बजे पशुपति आर्यघाट लगिएको थियो।
आचार्य नेपालको पहिलो महिला उपप्रधनमन्त्री हुन्। वि.सं. २०१७ सालमा
राजालाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य वि.सं. २०४८
सालको आमनिर्वाचनमा मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भई
करिब १ वर्ष कृषि वन तथा भू-संरक्षण मन्त्री रहिन्।
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि मन्त्री रहँदा सरकारमा
भ्रष्टाचार व्याप्त छ भनी उनले मन्त्रीबाटै राजिनामा दिएकी थिइन्। वि.सं.
२०५१ सालको मध्यावधि निर्वाचनमा उनी पुनः मोरङ क्षेत्र नं. ७ बाट
प्रतिनिधिसभामा निर्वाचित भइन् । २०५३ सालमा उनले उपप्रधानमन्त्री तथा
जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।
उनको जन्म वि.सं. २००१ सालमा मोरङको विराटनगरमा भएको थियो। समाजशास्त्रमा
स्नातकोत्तर तहसम्म अध्ययन गरेकी आचार्य कांग्रेस संस्थापक नेता बिपि
कोइराला तथा सभापति गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन्। आचार्य बिपिका
पिता कृष्णप्रसाद कोइरालाकी जेठी पत्नीकी छोरी इन्दिराकी छोरी हुन्।
कृष्णप्रसाद कोइरालाकी कान्छी दिव्या कोइरालाबाट बिपि, केशव कोइराला,
तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मिएका हुन्।
उनको ६५ वर्षको उमेरमा शुक्रबार बिहान ४:२५ मा उपचारका क्रममा त्रिवि
शिक्षण अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि अल्जाइमर्स र
निमोनियाबाट पीडित थिइन्।
No comments:
Post a Comment