दलहरुले आन्तरिक छलफल र गृहकार्य भने थालेका छन्। एमालेले सरकारमा शंकर
पोखरेल, विष्णु पौडेल, रघुविर महासेठ र जीतु गौतमलाई पठाउने तयारी गरेको
छ। यसअघि एमालेबाट विद्या भण्डारी रक्षा र सुरेन्द्र पाण्डे अर्थ नियुक्त
भइसकेका छन्। भण्डारी केपी ओली समूहकी र पाण्डे चाँहि संस्थापन पक्षका
हुन्। यसअघिको सरकारमा मन्त्री रहेका पौडेलले पुनः मन्त्री बन्ने
सम्भावना भएकाले पुल्चोकस्थित सरकारी निवास छाडेका छैनन्।
कांग्रेसभित्र कसको नेतृत्वमा सरकारमा जाने भन्ने विवाद कायमै छ। सभापति
गिरिजाप्रसाद कोइरालाले उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा सरकारमा
पठाउने तयारी गरेका छन्।
यता वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति सुशिल कोइरालाले भने
पौडेलको नेतृत्वमा सरकारमा जानेबारे पुनर्विचार गर्न कोइरालालाई आग्रह
गरेको स्रोतले बतायो।
कांग्रेसले रामशरण महत विमलेन्द्र निधि शेखर कोइराला वा सुजाता
कोइरालामध्ये एक रमेश लेखक र जनजाति कोटाबाट सूर्यमान गुरुङलाई सरकारमा
पठाउने विषयमा छलफल चलाएको छ। महिला कोटामा उमा अधिकारी वा सुप्रभा
घिमिरेमध्ये एकजना सरकारमा जाने सम्भावना छ।
सुजाताको प्रस्ताव
नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीका तर्फबाट छोरी
सुजातालाई मन्त्री बनाउन प्रस्ताव गरेका छन्।
राजधानीको महाराजगन्जस्थित निवासमा पटकपटक बस्दै आएको कांग्रेस केन्द्रीय
पदाधिकारी तथा सदस्यहरुको अनौपचारिक बैठकमा त्यस्तो प्रस्ताव राखेको
जानकारी पार्टी स्रोतले दिएका छन्।
कोइरालाले छोरी सुजातालाई कुन मन्त्रालय दिने भन्ने चाहिँ प्रस्ताव
नगरेको जानकारी बैठकमा सहभागी एक नेताले दिए ।
"कांग्रेसका पटकपटक बसेका अनौपचारिक बैठकमा सभापतिज्यूले छोरी सुजातालाई
मन्त्री बनाउन प्रस्ताव गर्नुभएको छु ती नेताले नागरिकसँग भने- "उहाँले
सुजातालाई कुन मन्त्री बनाउने भन्नेबारे चाहिँ केही बताउनुभएको छैन।"
कोइरालाले सुजाताबाहेक मन्त्रिपरिषद्मा पार्टीबाट पठाउने कसैको नाम पनि
प्रस्ताव गरेका छैनन् । ती नेताका अनुसार पार्टी सभापति एवं सम्मानित
वयोवृद्ध नेताले छोरीलाई मन्त्री बनाउन प्रस्ताव गरेकाले बैठकमा सहभागी
कसैले पनि त्यसबारे कुनै प्रतिकि्रया व्यक्त गरेनन् ।
"बैठकमा कसैले पनि कोइरालाको प्रस्तावको विरोध र समर्थनमा बोलेनन्,"
स्रोतले भन्यो ।
सरकार गठनमा महत्वपुर्ण भूमिका खेलेको मधेशी जनअधिकार फोरमभित्र पनि
अध्यक्ष उपेन्द्र यादव र संसदीय दलका नेता विजयकुमार गच्छदारबीच विवादका
कारण को सरकारमा जाने भन्नेबारे निर्णय भएको छैन। संसदीय दलका नेता
गच्छदारले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने बताउँदै आएका छन्।
अध्यक्ष यादवले भने आफनो पार्टीबाट कसको नेतृत्वमा सरकारमा सहभागी हुने
भन्नेबारे केन्द्रीय समितिले टुंगो लगाउने अडान राखेका छन्। उनले
सहअध्यक्ष जेपी गुप्ताको नेतृत्वमा सरकारमा जानुपर्ने धारणा राखेका छन्।
यादव र गच्छदारबीचको आ-आफ्नै अडानका कारण फोरममा सरकारमा पठाउने
मन्त्रीहरुको नाममा सहमति हुन सकेको छैन।
तराई मधेश लोकतान्त्रिक पार्टीले भने सरकारमा जाने / नजाने विषयको टुंगो
अझै लगाएको छैन। अन्तिम निर्क्यौल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई
दिइएको छ।
तमलोपाले सरकारमा जाने निर्णय गरेमा महेन्द्र राय र जितेन्द्र सोनार
मन्त्री बन्ने सम्भावना छ। सदभावनाले चाँहि सरकारमा जाने निर्णय
गरिनसकेको अध्यक्ष राजेन्द्र महतोले बताए। "बिहीबारको केन्द्रीय कमिटी
बैठकले त्यसको निर्णय गर्छ," उनले भने। यद्यपि पार्टीले अध्यक्ष महतो वा
अनिल झामध्ये एकलाई सरकारमा पठाउने तयारी गरिरहेको स्रोतले बतायो।
No comments:
Post a Comment