May 31, 2009

कारागारमा क्षमता भन्दा तेब्बर बन्दी बन्दीलाई बस्न समस्या

दमौली १७ जेठ ।
तनहँु कारागारमा क्षमता भन्दा तेब्बर बन्दीहरु रहेका छन् । जसको कारण
बन्दीहरुलाई बस्न असाध्यै समस्या परेको छ । ठाँउ साघुरो भएको कारण
बन्दीहरुलाई राती सुत्न समेत समस्या परेको छ ।
२५ जनाको क्षमता रहेको ग श्रेणीको सो कारागारमा हाल विभिन्न अपराधका
मुद्धामा सजाय तोकिएका र नतोकिएका गरि ७७ जना रहेका छन् । कारागार प्रमुख
दमोदर शर्माका अनुसार थुनुवाको संख्या थपघट भैरहने भए पनि यस पटक अति
धेरै बन्दी भएको बताए । शर्माले बन्दीहरुलाई सुत्नकोलागी तोकिएको स्थान
अभाव भएपछि स्टोरको रुपमा प्रयोग गरिएको कोठालाई सुत्नको लागी उपयोग
गरिएको जानकारी दिए ।
उनका अनुसार कारगारमा बन्दीहरुलाई सुत्नको लागी दुईवटा कोठा ब्यवस्था
भएकोमा स्टोरको रुपमा प्रयोग गरिएको दुई वटा कोठालाई पनि मर्मत सम्भार
गरि बन्दीहरुलाई सुत्ने प्रवन्ध मिलाइएको बताए । यसअघि सो स्टोर कोठामा
बन्दीहरुको लागी खाद्यान्न र बन्दीहरुले बनाएको मुढा र अन्य सामाग्रीहरु
राख्ने गरिन्थ्यो ।
बन्दीहरुलाई खानेपानीको असाध्यै समस्या परेको बन्दीहरुका नाइके मनीराम
गुरुङ्गले बताए । उनका अनुसार ब्यास नगरपालीकाले ब्यवस्था गरेको खानेपानी
पर्याप्त नभएको कारण जेनेरेटरको सहायताले मादी नदीको पानी तानेर प्रयोग
गरिन्छ । त्यो पनि लोडसेडिङ्गको कारण कहिले काँही त मुख धुने पानी समेत
नपाईने गुरुङ्गले बताए ।
उनका अनुसार बर्षायाम भरी नदि धमीलो आउने भएको कारण पानीको ज्यादै समस्या
हुने नाईके गुरुङ्गले बताए । २०२५ सालमा निर्माण गरिएको कारागारमा हाल ५१
जना कैदी र २६ जना थुनुवा सहित ७७ जना बन्दीहरु रहेका छन् ।

No comments: