काठमाडौं, जेठ १४ - प्रतिपक्ष एकिकृत नेकपा माओवादीले नारायणहिटी
दरबारबाट गणतन्त्र शालिक हटाउने सरकारको पछिल्ला निर्णयलाई बेबी किङ
बिउँत्याउने षडयन्त्र भनेको छ। राजधानीमा जारी माओवादी सचिवालय बैठकले
राज्य पुनःसंरचना र संविधानसभा मन्त्रालय खारेज गर्ने सत्तारुढ दलहरुको
निर्णयलाई परिवर्तन आत्मसाथ गर्न नसकेको रुपमा व्याख्या गरेको छ।
बिहीबार बिहान बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले
बेबी किङ बिउँत्याई नारायणहिटी ल्याउने षडयन्त्रमा सरकार लागेकाले
नारायणहिटीभित्र शालिक नबनाउने निर्णय गरिएको जिकिर गरे।
प्रधानमन्त्री माधव नेपालको सरकारले सर्वसाधारण सबैले सजिलै देख्न सकून्
भन्दै नारायणहिटीभित्र बनाउन लागिएको गणतन्त्र शालिक रत्नपार्कमा बनाउन
लागेको प्रधानमन्त्रीले बताएका थिए। माओवादी नेतृत्वको सरकारले
नारायणहिटी परिसरमा नै त्यस्तो शालिक बनाउन बजेटसमेत छुट्याएको थियो।
राष्ट्रपतिविरुद्ध माओवादीले संसदमा सूचना दिएको संकल्प प्रस्तावमा छलफल
भएमात्र संसद चल्न दिने अन्यथा बिहीबार पनि संसद अवरुद्ध पार्ने जानकारी
प्रवक्ता शर्माले दिए।
नयाँ बन्ने संविधानमा पार्टीका तर्फबाट बुझाउने मस्यौदा निर्माणका लागि
माओवादी सचिवालयको बैठक बसिरहेको हो। बैठकमा शासकीय स्वरुप र राज्य
पुनःसंरचनाका विषयमा नेताहरुले धारणा व्यक्त गरे। बैठक शनिबारसम्मका लागि
स्थगित भएको छ।
No comments:
Post a Comment