May 27, 2009

सेनापति प्रकरण अन्त्य गर्ने जिम्मा प्रधानमन्त्रीलाई, प्रधानमन्त्री बालुवाटार सर्दै

बुधवार, काठमाडौं, जेठ १३ - प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानसेनापतिमा देखिएको विवाद टुङ्गाउने जिम्मा आफूले लिएका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानसेनापतिमा देखिएको विवाद
टुङ्गाउने जिम्मा प्रधानमन्त्रीलाई दिएको हो। यसअघि सरकारलाई समर्थन दिएका २२ दलको बैठकले विगतको पुष्पकमल दाहाल
प्रधानमन्त्रीत्व सरकारले गरेको प्रधानसेनापति सम्बन्धि निर्णयलाई उल्टाउन प्रधानमन्त्रीसँग अनुरोध गरेको थियो। दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति रुक्मामङ्द कटवाललाई पदबाट हटाएर
वलाध्यक्ष रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापति पदमा ल्याएको
थियो। मन्त्रिपरिषद्ले कोशी कटान क्षेत्रको तुरुन्त निरिक्षण गर्न रक्षा, गृह र भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवलाई त्यस तर्फ पठाउने निर्णय पनि गरेको छ।
बैठकले जेठ १५ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने र सोही दिन रत्‍नपार्कमा गणतन्त्र स्तम्भको शिलान्यास गर्ने निर्णय पनि गरेको अर्थमन्त्री सुरेन्द्र पान्डेले जानकारी दिए।

प्रधानमन्त्री माधव नेपालले भने अहिले पनि प्रधानसेनापति कटवाल नै भएको प्रतिक्रिया दिएका छन्। बिबिसी नेपाली सेवासँगको अन्तरवार्तामा नेपालले प्रधानसेनापति कटवाल नै भएको र पुरानो सरकारी निर्णयलाई छिट्टै परिवर्तन गरिने बताए। राष्ट्रपति रामवरण यादवले दाहाल सरकारको निर्णयलाई कार्यान्वयन नगर्न सैनिक मुख्यालयमा पत्र पठाए पछि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएका थिए।
गत शनिबार प्रधानमन्त्रीमा चयन भएका र सोमबार सपथ ग्रहण गरेका प्रधानमन्त्री नेपाल बुधबार दिउसो ४ बजे सरकारी निवास बालुवाटार सर्दै छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकारको काम गरिरहेका विष्णु रिजालले
प्रधानमन्त्री आफ्नो निजि निवास कोटेश्वर छोडेर बालुवाटार सर्ने तयारी पुरा भएको जानकारी दिए।

No comments: